काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार गठनपछि पहिलो पटक आह्वान गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरूसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी नहुने भएका छन्।
सभापति लामिछानेले संसदमा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्। यो बैठक सिंहदरबारमा केहीबेरमा सुरू हुँदैछ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षरसभापतिसहित २ जनालाई आमन्त्रण गरिए पनि दलका शीर्ष नेता भने सहभागी नहुने देखिएको छ।
नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेबाट प्रमुख सचेतक ऐन महर, नेकपाबाट सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वर्षमान पुन जाने भएका छन्।
कांग्रेसले संसदीय दल नेतासहित २ जना बैठकमा सहभागी हुने जनाएको छ। ‘संसदीय दलबाट नै सर्वदलीय बैठकमा सहभागी हुने कुरा भएको छ,’ कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भने।
कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री बालेन शाहले सर्वदलीय बैठक आह्वान गरेको भए सभापति गगन थापा सहभागी हुने सम्भावना रहन्थ्यो।
‘सत्तारूढ दल सभापतिले किन सर्वदलीय बैठक राख्नुभएको थाहा छैन, एक्कासि निमन्त्रणा मात्रै आयो,’ एक पदाधिकारीले भने, ‘हामीले विज्ञप्ति निकालेर सबै विषयवस्तुमा प्रष्ट पार्दै आएका छौं, नयाँ कुरा भन्नुपर्ने केही पनि छैन, भए पनि संसदीय दल नेताले कुरा राख्नु भइहाल्छ।’
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले लगातार संसद अवरूद्ध गर्दै आएका छन्। यसै सन्दर्भमा रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन्।