नुवाकोट। मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए)–नेपालले नेपालको ऊर्जा प्रसारण प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित दुई नयाँ उच्च क्षमतायुक्त सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।
नुवाकोटको रातमाटेमा आयोजित शिलान्यास कार्यक्रममा नेपाल सरकार, अमेरिकी सरकार, विकास साझेदार संस्था, निर्माण व्यवसायी, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
यो आयोजना अमेरिकी अनुदान सहयोगअन्तर्गत सञ्चालित एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको प्रमुख पूर्वाधार परियोजना हो। आयोजनामा संयुक्त राज्य अमेरिकाबाट ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९।७० करोड अमेरिकी डलर लगानी रहेको छ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ। आज शुभारम्भ गरिएको २९७ किलोमिटर प्रसारण लाइनमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल खण्ड समावेश छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा.घनश्याम उपाध्यायले विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ बनाउनु नेपालको आर्थिक विकास र ऊर्जा सुरक्षाका लागि अत्यन्त आवश्यक रहेको बताए। उनले यस आयोजनाले औद्योगिक विस्तार, लगानी प्रवर्द्धन तथा ऊर्जा क्षेत्रको सम्भावनाको अधिकतम उपयोगमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी नेपाल कम्प्याक्टले नेपालको ऊर्जा भविष्यको आधार निर्माण गरिरहेको उल्लेख गर्दै यसबाट घरपरिवार, कृषि र उद्योग क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने बताए। साथै उनले क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा समेत यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण पूर्वाधारमा गरिएको लगानीले नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भावना उपयोग गर्न सहयोग पुग्ने बताए। उनले दीर्घकालीन आर्थिक वृद्धि तथा क्षेत्रीय ऊर्जा एकीकरणका लागि यो परियोजना महत्वपूर्ण रहेको उल्लेख गरे।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्माण हुन लागेका पूर्वाधारहरू राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार भएको बताए। यस्तै, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले यस दिनलाई नेपालको ऊर्जा पूर्वाधार विकासको ऐतिहासिक कोशेढुङ्गा भएको टिप्पणी गरे।
आयोजनाअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ। त्यस्तै, ११७ किलोमिटर लम्बाइको लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन आशिष–बोझ्लर संयुक्त उपक्रमले, ९० किलोमिटर रातमाटे–न्यू दमौली खण्ड एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले तथा ९० किलोमिटर न्यू दमौली–न्यू बुटवल खण्ड वाइबा–सालसर संयुक्त उपक्रमले निर्माण गर्नेछन्।
निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेशन नेपालकै सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेशनमध्ये पर्नेछन्। परियोजनाले राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई थप बलियो बनाउँदै बढ्दो ऊर्जा माग सम्बोधन गर्न तथा देशको आर्थिक विकासलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।