काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा गएको आयोगको टोलीले कण्डेललाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
आयोगले शनिबार जारी गरेको विज्ञप्ति अनुसार कण्डेललाई सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
कण्डेलको साथबाट घुस रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
कण्डेलमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।