आइतवार, श्रावण २४ गते २०८३

राजनीतिलाई सेवाको प्रतीक बनाउनुपर्छ : कांग्रेस सभापति थापा

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन्।

नेपाली कांग्रेस का सभापति थापाले काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन्। उनले सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकासमा मात्र नभई लोकतन्त्रको आधार बलियो बनाउन पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

“राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो। हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ,” थापाले भने।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा ले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको साथी हुनुपर्ने बताए। उनले सक्रिय जीवनपछि घरमै सीमित भएका व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गरेर वडाले सकारात्मक काम गरेको उल्लेख गरे।

वडा अध्यक्ष तथा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत ले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एउटै वडाभित्र पाउनु गौरवको विषय भएको बताए। उनले प्रतिशोधभन्दा स्वच्छ प्रतिस्पर्धामार्फत उन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा ज्येष्ठ नागरिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, संस्कृतिकर्मी, समाजसेवी, कलाकार, साहित्यकार, उद्यमी तथा विभिन्न क्षेत्रका गरी करिब ७० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो।

आयोजकका अनुसार समाजको वास्तविक पहिचान त्यहाँ बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी, उद्यमी र ज्येष्ठ नागरिकहरूको योगदानबाट प्रतिबिम्बित हुने भएकाले उनीहरूको सम्मान गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार