बिहिवार, आश्विन १५ गते २०८३

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

सोमवार , आषाढ १, २०८३

काठमाडौं । अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै रेसुङ्गा नगरपालिका लाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ।

नगर क्षेत्रमा आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुगेको र आर्थिक अभावका कारण विशेषगरी मोतियाविन्दुको उपचारबाट कोही पनि वञ्चित हुनुपर्ने अवस्था नरहेको जनाइएको छ। साथै आँखा उपचारका लागि भैरहवा वा बुटवल जानुपर्ने बाध्यता समेत अन्त्य भएको बताइएको छ।

नेपाल नेत्रज्योति सङ्घ को ३०औँ केन्द्रीय सभाको अधिवेशनमा सङ्घका संस्थापक प्रा. डा. रामप्रसाद पोखरेल, कोशी प्रदेशसभा का उपसभामुख सिर्जना दनुवार तथा सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्त ले नगरप्रमुख खिलध्वज पन्थीलाई उक्त सम्मान प्रदान गरे।

सम्मान ग्रहणपछि नगरप्रमुख पन्थीले कार्यपालिकाको पहिलो बैठकबाट नै आँखा उपचार सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने निर्णय गरिएको जानकारी दिए।

उनले अहिले नगर क्षेत्रमा आर्थिक अभावका कारण कसैले पनि आँखा उपचार सेवाबाट वञ्चित हुन नपरेको बताए। उनका अनुसार आँखा उपचारका लागि भैरहवा वा बुटवल जानुपर्ने सास्ती अन्त्य भएको छ।

पन्थीका अनुसार नगरपालिकाले गुल्मी अस्पताल मा मिर्गौला रोगीका लागि डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेको छ। यसबाट हाल ४० जना बिरामी लाभान्वित भएका छन्।

साथै दम तथा निमोनियाका बिरामीका लागि नगरपालिकाले घरघरमै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउँदै आएको छ, जसबाट करिब २०० जना लाभान्वित भएको जनाइएको छ। सोही अवसरमा सङ्घले गोरखा नगरपालिका लाई पनि उक्त सम्मान प्रदान गरेको थियो।

समाजसेवी सापकोटा सम्मानित

उक्त कार्यक्रममा कृष्णहरि सापकोटालाई पनि नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको थियो। उनले मुसिकोट नगरपालिका–७ मा रहेको एक रोपनी जग्गासहित साढे दुई तले भवन निर्माण गरी नेपाल नेत्रज्योति सङ्घ गुल्मी शाखा लाई हस्तान्तरण गरेका थिए।

उक्त जग्गा र भवनको मूल्य करिब दुई करोड ५० लाख रुपैयाँ बराबर रहेको जनाइएको छ। हाल सोही भवनमा सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ।

कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्त, महासचिव भरतबहादुर चन्द तथा नगरप्रमुख खिलध्वज पन्थीले समाजसेवी सापकोटाको योगदान सबैका लागि अनुकरणीय रहेको बताए।

 
 
 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार