आइतवार, श्रावण २४ गते २०८३

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

मंगलवार , आषाढ ९, २०८३

लेखनाथ । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटकको चाप बढेसँगै यहाँका होटल भरिभराउ भएका छन्। यतिबेला लेकसाइडका सडक र बाराही मन्दिर क्षेत्रमा अधिकांश भारतीय पर्यटकको चहलपहल देख्न सकिन्छ।

गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ तथा विभिन्न पदयात्रा क्षेत्रमा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै सुवेदीले उनीहरूको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए। पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको उनको भनाइ छ।

फेवातालमा दिनहुँ चारदेखि पाँच हजार भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले दिए। डेढ महिनादेखि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति रहेको र उनीहरू फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न विशेष रुचि राख्ने गरेको विकले बताए।

“दिनभरि तालछेउमा डुङ्गा कुरेर बेलुका रित्तो हात घर फर्किनुपर्ने बाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ,” विकले भने। अहिले बाराही घाटबाट मात्र दिनहुँ १४० वटा डुङ्गा सञ्चालनमा छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्रै करिब डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिए। उनका अनुसार भारतीय पर्यटक धार्मिकस्थल भ्रमण, छोटो दूरीका पदयात्रा, प्याराग्लाइडिङ, बन्जी जम्प, डुङ्गा सयर तथा र्‍याफ्टिङमा सहभागी हुने गरेका छन्।

भारतीय पर्यटकको आगमनले पाँचतारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ भएको उनले बताए।

होटल व्यवसायी पार्वती पाण्डेका अनुसार भारतीय पर्यटकले कोठाभन्दा खानामा बढी मोलमोलाइ गर्ने गर्छन्। भारतमा होटलका कोठा महँगा हुने भएकाले उनीहरू कोठामा खासै मोलमोलाइ गर्दैनन्। पोखराका होटल भारतीय पर्यटककै भरमा चलेको उल्लेख गर्दै उनले नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यको भारतमा प्रभावकारी प्रचारप्रसार गर्न सके भारतीय पर्यटकको सङ्ख्या अझ बढ्ने बताइन्।

पर्यटन व्यवसायीहरूले यो मौसमलाई ‘अफसिजन’ मान्ने गरे पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि उनीहरू उत्साहित बनेका छन्। नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको व्यवसायीहरूको भनाइ छ।

पर्यटन व्यवसायीका अनुसार पछिल्लो एक महिनामै पोखरामा करिब डेढ लाख भारतीय पर्यटक भित्रिएका छन्। यहाँका होटलको अकुपेन्सी दर ९० प्रतिशत पुगेको व्यवसायीहरू बताउँछन्। भारतीय पर्यटक विशेषगरी तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ तथा मनकामना मन्दिरमा जाने गरेका छन्।

नेपालमा आउने पाहुनाको सम्मान गर्नु सबैको कर्तव्य भएको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार नेपालीहरू पनि भारतका धार्मिक मठमन्दिरमा जाँदा होटलभन्दा बाहिर नै पकाएर खाने चलन छ। पोखरामा एकैदिन करिब १० हजार पर्यटक अटाउन सक्ने होटल क्षमता रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार