शनिवार, कार्तिक ८ गते २०८३

सीमा नाकामा भारतीय तस्करबाट फेरि निर्घात कुटिए नेपाली सुरक्षाकर्मी

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका जवान निर्घात रुपमा कुटिएका छन्।तस्कर समूहको आक्रमणमा परि तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन्।

स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए। सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गर्दा ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको हो।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ।

घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका एसपी वीरेन्द्र ऐरले जानकारी दिए।

तस्करहरुको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेको प्रहरीले जनाएको छ। भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा बेलाबखत गस्तीमा खटिएका सुरक्षाकर्मीमाथि तस्करको समूहबाट आक्रमण हुँदै आएको छ।

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार