काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका(३ स्थित नेपाली सेनाको गोराङ्गे ब्यारेक अन्तर्गत फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा घाइते भएकामध्ये एक सैनिकको मृत्यु भएको छ । अर्का एक घाइते छन्।
इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीका अनुसार बिहीबार बिहान ९ बजेतिर सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट मोहन्याल गाउँपालिका(७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास भइरहेको थियो । सोही क्रममा ग्रिनेड पड्काउँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।
विस्फोटका कारण विष्टको दाहिने हातको हत्केलामा गम्भीर चोट लागेको थियो भने छर्राले शरीरका अन्य भागमा समेत चोट पुर्याएको प्रहरीले जनाएको छ । घटनास्थल नजिक रहेका स(सेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ब्यारेकभित्र नियमित सैन्य तालिमका क्रममा अचानक ग्रिनेड विस्फोट भएको हो । विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो ।