आइतवार, श्रावण २४ गते २०८३

४४.४९ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । पछिल्ला सात कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६२ स्टकको ५६ हजार ८५० पटकको कारोबारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। 

त्यस्तै, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ भने भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ५.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ र भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार