काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो ।
गत वर्षको यसै महिनामा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ आगमन भएको थियो ।
त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले पर्यटक संख्या वृद्धि भएको हो । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन् ।
जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो । मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो ।
जसमा चीनबाट ९ हजार ९९५ पर्यटक आगमन भएको छ भने जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ तथा थाइल्यान्डबाट ५१४ पर्यटक नेपाल आएका छन् । युरोपबाट कुल ६ हजार ९५४ नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५ सय, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक आएका छन् ।
अमेरिकाबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२।९५ प्रतिशत हो । यस अवधिमा क्यानडाबाट १ हजार ११ र ब्राजिलबाट १०४ पर्यटक आएका छन् ।