काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी लाभ वा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा भ्ष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त नगरपालिका वडा नं. ५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको टेण्डर तथा भवन निर्माण गर्दा अनियमितता गरेको आरोप प्रतिवादीमाथि लगाइएको छ ।
यस सम्बन्धमा प्राप्त उजुरीको अनुसन्धान हुँदा विद्यालयका प्रधानाध्यापक समेतको मिलेमतोमा उक्त गरेको पुष्टि भएको छ ।
आयोगले यस कार्यमा संलग्न भएको आरोपमा ठाकुरसहित नगरपालिकाका तत्कालीन् इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका प्रधानाध्यापक विजयकानत मिश्र र लेखापाल शेख जाहिरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
प्रतिवादी सबैलाई ११ लाख १० हजार ११४ रुपियाँ बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।