काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पत्रकार सम्मेलन गरेर आफुलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको आरोप लगाएका छन्।
बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका उनले बालुवाटार जग्गा प्रकरणमा आफुलाई फसाउन खोजिएको भन्दै लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए।
उनले लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास रहेको बताए। गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी पाउँदासमेत सरकारको कुनै खर्च गरिन्। मैले मेरो पदीय जिम्मेवारी सम्हाले। मैले कहिल्यै मेरो व्यक्तिगत स्वार्थको लागि काम गरिन्। मलाई किन निराधार आरोप लगाइयो भन्ने प्रश्न उठेको छ।’
संविधान निर्माणमा पनि आफूले महत्वपूर्ण भूमिका खेलेको बताए। संविधान निर्माणको बेलामा आफूले सहजीकरण गरेकै कारणले दलहरूमा सहमति बनेको दाबी गरे। लोकतन्त्रप्रति आफूलाई अपार विश्वास रहेको बताउँदै कम्युनिष्टको दुईतिहाइ सरकारले काम गर्न नसकेको आरोप लगाए।