काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जसले बनाएको हो उसैले ढाल्ने बताएका छन् । सरकार बनाउनेहरु ढाल्नको लागि पनि तयारी अवस्थामा रहेको उनले बताए ।
नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले वर्तमान सरकार चटकको भरमा आएको आरोप पनि लगाए ।
‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ,’ ओलीले भने ।
तर, त्यसो भनेर आफूहरू पर्खेर बस्न नहुने तर्क ओलीको थियो । पर्खिएर बसेको खण्डमा त्यसले देश, लोकतन्त्र र जनतालाई बर्बाद गरिसकेको हुने उनको बुझाइ छ ।