काठमाडौं । बागमती प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको खोजी गर्दै पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशाबारे केन्द्रित एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा भौगोलिक पर्यटनको सम्भावना, दिगो पर्यटन विकास, पूर्वाधार विस्तार र प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले पर्यटन क्षेत्रमा समस्या मात्र औंल्याउनेभन्दा समाधानमुखी सोच अपनाउन आवश्यक रहेको बताए। उनले पर्यटन विकासका लागि प्रभावकारी मार्केटिङ र ब्रान्डिङ अपरिहार्य रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा नेपाल सरकारले आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए।
उनका अनुसार हालसम्म करिब १३ लाख पर्यटक नेपाल आइसकेका छन्, जसमा ९१ हजारभन्दा बढी बाह्य पर्यटक रहेका छन्। भारतबाट मात्र २५ देखि ३० लाख पर्यटक आउने अपेक्षा गरिएको उनले बताए।
घिमिरेले पर्यटन क्षेत्र राज्यको आर्थिक समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै कुल अर्थतन्त्रमा पर्यटनको करिब २.५ प्रतिशत योगदान रहेको दाबी गरे। उनले आगामी दिनमा लाख होइन करोडौं पर्यटक भित्र्याउने लक्ष्यसहित संघ, प्रदेश र स्थानीय सरकारबीच योजनाबद्ध समन्वय आवश्यक रहेको बताए। पर्यटन क्षेत्र देशको बहुमूल्य सम्पत्ति भएकाले प्राथमिकता, पूर्वाधार निर्माण र प्रवर्द्धनमा तीनै तहका सरकारको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
होटल व्यवसायी महासंघ नेपाल बागमतीका अध्यक्ष दामोदर नेपालले पर्यटन क्षेत्र समृद्धिको आधार भए पनि राज्यको नीति अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको गुनासो गरे। उनले नेपाल पर्यटन सम्भावनाको खानी भएको उल्लेख गर्दै कृत्रिम संरचनाभन्दा प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासमा विशेष जोड दिनुपर्ने बताए। गाउँ–गाउँमा रहेका पर्यटकीय गन्तव्यको विकाससँगै प्रविधि र सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ थियो।
होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले पर्यटन क्षेत्रमा लगानी गर्न अझै चुनौती रहेको बताए। उनले देशको आर्थिक उन्नतिका लागि होमस्टे तथा ग्रामीण पर्यटनको विकासमा जोड दिनुपर्ने धारणा राखे। विदेशी पर्यटक शहरी संरचना हेर्नभन्दा नेपालको ग्रामीण जीवन, कला र संस्कृतिको अनुभव गर्न आउने भएकाले दिगो पर्यटन विकासका लागि ग्रामीण पर्यटन नीति आवश्यक रहेको उनको भनाइ थियो। काठमाडौं आएका पर्यटक कम्तीमा एक सातासम्म बस्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
मध्यपुर थिमी नगरपालिका–३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णहरी आचार्यले मध्यपुर थिमी कला, संस्कृति र ऐतिहासिक सम्पदाले सम्पन्न नगर भएको बताए। उनले बाह्यभन्दा आन्तरिक पर्यटनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने उल्लेख गर्दै प्रकृति, संस्कृति र आध्यात्मिक पर्यटनलाई जोडेर दीर्घकालीन रणनीति बनाउनुपर्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री सुरेश श्रेष्ठले कानुनी जटिलताका कारण प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाअनुसार विकास र प्रचार–प्रसार हुन नसकेको बताए। उनले प्रदेश सरकारले पर्यटन क्षेत्रको सम्भावना विस्तारका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै व्यवसायी सबल नभएसम्म प्रदेश सरकार पनि बलियो हुन नसक्ने स्पष्ट पारे।
मन्त्री श्रेष्ठले संघीय ऐन तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्बन्धी प्रक्रियाका कारण होटल दर्तालगायतका काममा समस्या भइरहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रदेश सरकार वार्ता, छलफल र समन्वय गर्न सधैं तयार रहेको बताए। उनले दिगो पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र र आमजनताको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन र भारतका नागरिकलाई धार्मिक पर्यटकका रूपमा आकर्षित गर्न सके नेपालको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पदम पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर बगे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारलगायतले पर्यटन क्षेत्रको सम्भावना, चुनौती तथा दिगो विकासका विषयमा धारणा राखेका थिए।
राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।