आइतवार, श्रावण २४ गते २०८३

एआई प्रविधिमा चीनको कडाइ : विदेशी पहुँच र प्रविधि चोरी रोक्न नयाँ नियम

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । चीन सरकारले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लागु गर्ने तयारी गरिरहेको छ । 

चिनियाँ अधिकारीहरूले एक महिनायता देशका प्रमुख प्रविधि (टेक) कम्पनीहरूसँग बैठकहरू गरेका छन् । ती बैठकहरूमा विदेशबाट चीनका अत्याधुनिक एआई मोडेलहरूमा हुने पहुँचलाई सीमित गर्ने विषयमा गहन छलफल भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

चीनको वाणिज्य मन्त्रालयको नेतृत्वमा आयोजित ती बैठकहरूमा अलिबाबा, बाइटडान्स र चर्चित एआई स्टार्टअप जेटडटएआईलगायत प्रमुख कम्पनीहरू सहभागी थिए । 


छलफलका क्रममा अधिकारीहरूले भविष्यमा सार्वजनिक हुने तथा हाल सञ्चालनमा रहेका दुवै प्रकारका उन्नत एआई मोडेलमाथि सरकारी नियन्त्रण थप कडा बनाउन सकिने स्पष्ट संकेत दिएका छन् ।


चीनले एआई प्रविधिको चोरी वा सूचना चुहावटलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत गम्भीर अपराधको दायरामा राख्ने विषयमा पनि छलफल गरिरहेको छ । स्वदेशी एआई स्टार्टअपहरूमा लगानी गर्ने विदेशी तथा स्वदेशी लगानीकर्ता र संस्थामाथि पनि कडा नियम लागु गर्न सकिने बताइएको छ । 

चीन आफ्नो एआई प्रविधिलाई देशको सीमाभित्रै सुरक्षित राख्न चाहन्छ । गत वर्ष चीनको ‘डीपसीक’ले आफ्नो ‘आर१’ मोडेल सार्वजनिक गरेपछि चिनियाँ एआई प्रविधिले विश्वभर तीव्र चर्चा र लोकप्रियता हासिल गरेको थियो । 

कम लागत र उच्च कार्यक्षमताका कारण चिनियाँ एआई मोडेलहरूको विश्व बजारमा माग उल्लेखनीय रूपमा बढेको छ । यदि, चीनले विदेशी प्रयोगकर्ताका लागि आफ्ना एआई प्रविधिमा पहुँच सीमित गर्‍यो भने वैश्विक एआई बजारमा अन्य कम्पनीहरूको लागत बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिका र चीनबीच एआईमा तीव्र प्रतिस्पर्धा
चीनजस्तै अमेरिकाले पनि एआई प्रविधिलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेरिरहेको छ । अमेरिकी प्रशासनले पनि हालै आफ्ना अत्याधुनिक एआई मोडेलहरूमा विदेशी नागरिक तथा प्रतिद्वन्द्वी मुलुकहरूको पहुँच सीमित गर्न विभिन्न कडा कदम चालिसकेको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार