काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विहिबार भेट गरेका छन् ।
भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे ।
उहाँले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए । उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उनको भनाई थियो ।
नागरिक उडययन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै उनले भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गरे ।
सभामुख अर्यालले भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उहाँलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए ।
उनले भारतको संसदलाई लोकतन्त्रको दृढ संरक्षकका रूपमा सधैँ उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै आफ्नो गौरवपूर्ण इतिहासमा भारतको संसदले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सम्माननीय सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सम्माननीय सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिए ।