आइतवार, श्रावण २४ गते २०८३

बागमति नदीको कटानले टौदहका बस्ती जोखिममा

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । वाग्मती नदीको कटानका कारण टौदहपूर्वका केही घर जोखिममा परेका छन्। कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो।

वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनारको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन्।

टौदहका स्थानीयवासी मिलन खड्काले भने, “वाग्मती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन्। अहिले नै पूर्वतर्फका कान्लाबाट टौदहको पानी चुहिन थालेको छ। समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ।”

मिलनका अनुसार, वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि नदीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको छ। साथै, पश्चिमतर्फ कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले पनि कटान गर्दै लगेको तिनले बताए।

अर्का स्थानीय अन्जिल खड्काले भने, “खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिका कारण कटान रोकथामको काम हुन सकेको छैन।”

विभिन्न निकायले वाग्मती नदीको कटानबाट टौदह र बस्ती जोगाउन तटबन्ध तथा टेवा पर्खाल निर्माणका लागि बजेट छुट्याउने गरेका छन्। तर सीमा कहाँसम्म हो भन्ने यकिन नहुँदा त्यस्ता बजेट फिर्ता जाने गरेको स्थानीयवासी मिलन खड्काले बताए।

उनले भने, “पटकपटक वाग्मती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ, तर आजसम्म भएको छैन।” तिनका अनुसार सीमाङ्कन नभएकै कारण निर्माण व्यवसायीले काम सुरु गर्न नमानेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार