शनिवार, कार्तिक ८ गते २०८३

विदेशी पर्यटकका लागी अनअराइभल भिसा खुला, यस्ता छन् शर्त

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं। कोरोना महामारीका कारण बन्द रहेको विदेशीको लागी अन अरायभल भिसा खुला गरिएको छ। सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो।

सर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने छ। तर अनअराइभल भिसा प्राप्त गर्न विदेशी पर्यटकले केही शर्त भने मान्नुपर्ने छ।  नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको हुनुपर्ने छ।

यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ। यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य गरिएको छ।

पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ। पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ।

अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकको हकमा समेत कोभिड-१९ विरुद्धको खोपको मात्रा भने पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ। अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण हुने भएको छ।

यसरी गरिने परीक्षणमा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा बस्नुपर्ने छ। 
नयाँ आदेश अनुसार कोभिड–१९ खोपको मात्रा पूरा गरेको १४ दिन पार गरेका नेपाली र गैरआवासीय नेपालीले गन्तव्यमा जान पाउने छन्। उनीहरुले ७२ घण्टा भित्रको पीसीआर परीक्षण नेगेटिभ आएको रिपोर्ट भने साथमै बोक्नु पर्नेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार