आइतवार, श्रावण २४ गते २०८३

सार्वजनिक शिक्षा सुधारमा चुनौती रहेको शिक्षामन्त्रीको गुनासो, जापानले सघाउने राजदूत मायदा तोरुको आश्वासन

बिहिवार , आषाढ ३२, २०८३


काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

साथै, आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि विचार–विमर्श भएको थियो ।

भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । 

सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले यसमा थुप्रै चुनौतीहरु पनि रहेको बताए । उनले भने, सार्वजनिक शिक्षा सुधारका चुनौतीहरू छन् । तर चुनौती स्वीकार गर्नु नै सुधारको प्रारम्भिक पूर्वशर्त हो ।

त्यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध छ ।

जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गर्दै उनले त्यस किसिमको पहलमा जापानले आवश्यक सहयोग गर्ने बताए । 

उहाँले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय इकाइ वा सम्बन्धित निकायलाई शिक्षकको पेशागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए । 

राजदूत तोरुले शिक्षा क्षेत्रमा नेपाल सरकारले थालेको सुधारको प्रयास प्रशंसनीय रहेको बताउँदै त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्नेमा जोड दिए । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार