काठमाडौँ ।९६ वर्ष लामो विश्वकप इतिहासको २३औं संस्करण अन्ततः यस्तो मोडमा आइपुगेको छ, जहाँ फेरि एकपटक नयाँ इतिहास लेखिने तयारी भइरहेको छ । खेलकुद डेस्कफुटबलको सर्वोच्च निकायद्वारा आयोजित फिफा विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र नभएर विश्वकै सबैभन्दा ठूलो खेल उत्सव हो। सन् १९३० मा सुरु भएको यो ऐतिहासिक यात्राले फुटबल प्रेमीहरूलाई अनेकौँ अविस्मरणीय क्षण, उत्साह र रोदनका कथाहरू दिएको छ।
सुरुआती चरण र जुल्स रिमेटको सपनाफिफाका तत्कालीन अध्यक्ष जुल्स रिमेटको विशेष पहलमा सन् १९३० मा पहिलो पटक फिफा विश्वकपको आयोजना दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा भएको थियो। पहिलो विश्वकपमा जम्मा १३ वटा देशले मात्र सहभागिता जनाएका थिए। उक्त ऐतिहासिक प्रतियोगिताको फाइनलमा अर्जेन्टिनालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक उरुग्वे पहिलो विश्वकप विजेता बन्न सफल भयो। सुरुआती समयमा विजेता टोलीलाई प्रदान गरिने ट्रफीको नाम ’जुल्स रिमेट ट्रफी’ राखिएको थियो।
दोस्रो विश्वयुद्धको अवरोध र पुनरागमन सन् १९३४ र १९३८ को विश्वकप इटाली र फ्रान्समा सफलतापूर्वक आयोजना गरिए पनि दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ को विश्वकप भने स्थगित हुन पुग्यो। लामो अन्तरालपछि सन् १९५० मा ब्राजिलले विश्वकपको सफल आयोजना गर्दै यस प्रतियोगितालाई नयाँ जीवन दियो।
विश्वकपका ऐतिहासिक रेकर्ड र राष्ट्रहरू
विश्वकपको ९ दशकभन्दा लामो इतिहासमा ब्राजिल सबैभन्दा सफल टोलीको रूपमा स्थापित छ। ब्राजिलले हालसम्म सर्वाधिक ५ पटक विश्वकपको उपाधि जितेको छ भने हालसम्मका सबै संस्करणमा सहभागिता जनाउने एकमात्र राष्ट्र पनि ब्राजिल नै हो।
विश्वकपको उपाधि जित्ने राष्ट्रहरूको सूची यसप्रकार छः
ब्राजिलः ५ पटक (१९५८, १९६२, १९७०, १९९४, २००२)
जर्मनीः ४ पटक (१९५४, १९७४, १९९०, २०१४)
इटालीः ४ पटक (१९३४, १९३८, १९८२, २००६)
अर्जेन्टिनाः ३ पटक (१९७८, १९८६, २०२२ – वर्तमान विजेता)
उरुग्वेः २ पटक (१९३०, १९५०)
फ्रान्सः २ पटक (१९९८, २०१८)
इङ्गल्याण्डः १ पटक (१९६६)
स्पेनः १ पटक (२०१०)
आधुनिकीकरण समयसँगै विश्वकपको स्वरूपमा ठूला परिवर्तनहरू आएका छन्ः
१९३०–१९८२ः सुरुआतमा १३ राष्ट्रबाट सुरु भएको प्रतियोगिता विस्तारै १६ राष्ट्र हुँदै सन् १९८२ मा २४ राष्ट्रको बनाइयो।
१९९८–२०२२ः फ्रान्समा आयोजित १९९८ को विश्वकपदेखि प्रतिष्पर्धी टोलीको संख्या ३२ बनाइयो, जसले फुटबललाई अझ बढी विश्वव्यापी बनाउन मद्दत ग¥यो।
२०२६ को नयाँ युगः फुटबलको लोकप्रियता र पहुँचलाई मध्यनजर गर्दै सन् २०२६ को विश्वकपदेखि टोलीको संख्या बढाएर ४८ राष्ट्र पु¥याइएको छ, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो स्वरूप हो।
पेले, डिएगो म्याराडोना, जिनेदिन जिदान हुँदै आधुनिक फुटबलका हस्तीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीहरूले यसै मञ्चमार्फत आफ्नो जादुमय खेल प्रदर्शन गरेर विश्वभरका अर्बौँ मानिसहरूलाई मन्त्रमुग्ध बनाएका छन्। आजको दिनमा फिफा विश्वकप खेल मात्र नरहेर विश्वलाई एउटै सुत्रमा बाँध्ने एउटा शक्तिशाली माध्यम बनिसकेको छ।