आइतवार, श्रावण २४ गते २०८३

कक्रोच पार्टीका संस्थापक दीपके लगायत चढेको गाडीमा आक्रमणको आरोप

मंगलवार , श्रावण ५, २०८३

काठमाडौ । भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको ’चलो संसद’ मार्च क्रममा सोमबार प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनको भोलिपल्ट सिजेपीका संस्थापक अभिजीत दीपकेले राम मनोहर लोहिया अस्पताल पुगेर घाइते विद्यार्थीहरूलाई भेटेको हिन्दुस्तान टाइम्सले जनाएको छ।यसबीच प्रदर्शनकारीहरू मंगलबार बिहानैबाट जन्तर–मन्तर फर्किन थालेका छन्। सिजेपी प्रवक्ता आशुतोष रांकाले आफ्ना मागहरू पूरा नभएसम्म त्यहीँ बस्ने बताएका छन्।

सोमबार रातभरि मध्य दिल्ली क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा राखिएको थियो। विशेष गरी कर्तव्य पथतर्फ जाने बाटोहरू पूर्ण रूपमा बैरिकेड लगाएर बन्द गरिएका थिए र सडक किनारमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए।

सोमबार प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यासका गोला प्रहार गरेको थियो। सिजेपीले प्रहरीको बर्बरताको विरोध गर्दै दीपके, सामाजिक अभियानी सोनम वाङचुककी पत्नी गीताञ्जली जे आङ्मो तथा कलाकारहरू शबाना आजमी र प्रकाश राज सवार ट्रकमाथि नै सुरक्षाकर्मीले ’आक्रमण’ गरेको आरोप लगाएको छ।

केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सोमबार करिब ५० हजार प्रदर्शनकारी सडकमा ओर्लिएका थिए।

सुरूआतमा प्रदर्शनकारीहरूले प्रहरीका लागि फूल बोकेर शान्तिपूर्ण रूपमा सुरू गरेको यो मार्च दिउँसोसम्म पुग्दा तनावग्रस्त बनेको थियो। प्रहरीले जन्तर–मन्तरमा बनाइएको मुख्य मञ्च भत्काउनुका साथै प्रदर्शनकारीहरूलाई त्यहाँबाट हटाएको थियो।

जन्तर–मन्तरमा भिड बढ्दै जाँदा शान्तिपूर्ण मार्चलाई अगाडि बढाउन विद्यार्थीहरूले फलामको बैरिकेड चढ्न थालेपछि सुरक्षाकर्मीले लाठीचार्ज सुरू गरेका थिए। दिनभर चलेको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीको टाउको फुटेको थियो।

दिल्ली प्रहरीले भने प्रदर्शनकारीहरूले ’उग्र, आक्रामक र हिंस्रक व्यवहार’ देखाएको र सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै सरकारी सवारी साधन र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको आरोप लगाएको छ।

प्रहरीका अनुसार सोमबार ११८ भन्दा बढी प्रहरी जवान घाइते भएका छन्। प्रदर्शनकारीहरूले तितरबितर हुन अस्वीकार गर्दै ’जानाजानी निषेधाज्ञाको उल्लंघन गरेको’ प्रहरीको दाबी छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार