काठमाडौँ । गर्मी मौसमको सुरुवातसँगै सर्वसाधारणलाई सताउने प्रमुख समस्यामध्ये एक हो लामखुट्टेको टोकाइ। जाडो महिनामा खासै नदेखिने लामखुट्टे गर्मी सुरु हुनेबित्तिकै टोलीका टोली कसरी सक्रिय हुन्छन्? यो केवल संयोग मात्र नभएर लामखुट्टेको शारीरिक बनावट, वातावरण र प्रजनन प्रक्रियासँग जोडिएको वैज्ञानिक कारण रहेको कीटविज्ञहरू बताउँछन्।
मुख्यतः जाडो महिनाको तुलनामा गर्मी महिनामा लामखुट्टे तीव्र रूपमा बढ्नु र सक्रिय हुनुका पछाडि देहायका कारणहरू रहेका छन्
१ उच्च तापमान र लामखुट्टेको जीवनचक्र
लामखुट्टे शीत रक्तयुक्त जीव हुन्। यसको अर्थ उनीहरूको शरीरको तापमान बाहिरी वातावरणमा निर्भर हुन्छ। जाडोमा अत्यधिक चिसोका कारण उनीहरूको मेटाबोलिजम सुस्त हुन्छ र धेरैजसो लामखुट्टेहरू हाइबर्नेशन (निष्क्रिय अवस्था) मा जान्छन् वा मर्छन्।
तर गर्मी बढेसँगै उनीहरूको शरीर सक्रिय हुन्छ। कीटविज्ञहरूका अनुसार २५ डिग्री सेल्सियस देखि ३०डिग्री सेल्सियस सम्मको तापमान लामखुट्टेको विकासका लागि सबैभन्दा उपयुक्त मानिन्छ। यस मौसममा उनीहरूको फुलबाट वयस्क बन्ने प्रक्रिया सामान्यभन्दा दोब्बर छिटो हुन्छ।
२ पानी जम्ने समस्या र प्रजनन
गर्मी मौसमसँगै मनसुन (वर्षा) को आगमन हुन्छ। वर्षाका कारण खाल्डाखुल्डी, पुराना टायर, गमला, कुलर र पानीका ट्याङ्कीहरूमा पानी जम्ने गर्छ। लामखुट्टेले सधैँ स्थिर पानीमा नै फुल पार्छन्। पानीको सहज उपलब्धता र अनुकूल तापमानका कारण गर्मीमा लामखुट्टेले छोटो समयमै लाखौँको सङ्ख्यामा फुल पार्न र सन्तान उत्पादन गर्न सक्छन्।
३ मानिसको पसिना र गन्धको आकर्षण
गर्मीमा मानिसको शरीरबाट धेरै पसिना आउँछ। पसिनामा ल्याक्टिक एसिड, अमोनिया र अन्य रसायनहरू हुन्छन्। लामखुट्टेमा यी गन्धहरू टाढैबाट थाहा पाउने क्षमता हुन्छ। साथै, गर्मीमा मानिसले फाल्ने कार्बन डाइअक्साइड र शरीरको तापक्रमका कारण लामखुट्टेहरू मानिसतर्फ बढी आकर्षित हुन्छन्।
गर्मीमा लामखुट्टेको सङ्ख्या मात्र बढ्दैन, यस समयमा डेंगु, मलेरिया, र चिकुनगुनिया जस्ता कीटजन्य रोगहरूको जोखिम पनि उच्च हुन्छ। त्यसैले आफ्नो घर वरिपरि पानी जम्न नदिनु नै लामखुट्टेको नियन्त्रण गर्ने सबैभन्दा उत्तम उपाय हो।
लामखुट्टेको टोकाइबाट कसरी जोगिने?
घर वरिपरि कतै पनि सफा वा धमिलो पानी जम्न नदिने।
कुलर, गमला र पानीका भाँडाहरू हप्तामा कम्तीमा एक पटक सफा गर्ने।
साँझ र बिहानको समयमा झ्याल(ढोका बन्द राख्ने वा जालीको प्रयोग गर्ने।
बाहिर निस्कँदा शरीर ढाक्ने लुगा लगाउने र लामखुट्टे धपाउने मलम प्रयोग गर्ने।
गर्मी मौसममा लामखुट्टेबाट बच्न व्यक्तिगत र समुदायिक स्तरमा सरसफाइमा ध्यान दिनु नै यसको मुख्य समाधान हो।