काठमाडौँ । विश्वभर र नेपालमा पनि तीव्र गतिमा फैलिरहेको स्वास्थ्य समस्यामध्ये क्यान्सर एक प्रमुख रोग हो। सामान्य भाषामा भन्नुपर्दा, शरीरका कोशिका हरू असामान्य र अनियन्त्रित रूपमा वृद्धि भई नजिकैका वा अन्य अंगहरूमा फैलिने अवस्थालाई क्यान्सर भनिन्छ।
सामान्य अवस्थामा हाम्रा पुराना र खराब कोशिकाहरू मर्छन् र तिनको ठाउँमा नयाँ कोशिकाहरू बन्छन्। तर, क्यान्सर हुँदा पुराना कोशिका नमर्ने र अनावश्यक रूपमा नयाँ कोशिका थपिइरहने हुन्छ, जसले अन्ततः ट्युमर (गानो) को रूप लिन्छ। यद्यपि, रगतको क्यान्सरमा ट्युमर बन्दैन।
क्यान्सर कसरी लाग्छ?
क्यान्सर लाग्नुको कुनै एउटै मात्र निश्चित कारण हुँदैन। यो वंशानुगत, वातावरणीय र जीवनशैलीका विभिन्न कारणहरूको जटिल मिश्रणले गर्दा हुन्छ। मुख्य कारणहरू निम्न अनुसार छन्ः
अस्वस्थ जीवनशैलीः सुर्तीजन्य पदार्थ खैनी, चुरोट, गुट्खा र मदिराको सेवन क्यान्सरको सबैभन्दा ठूलो कारण मानिन्छ।
अस्वस्थ खानपान ःप्रशोधित खाना, बढी बोसोयुक्त आहार, केमिकल र मिसावटयुक्त खानेकुराको नियमित प्रयोग।
वातावरणीय प्रभावः विकिरण, हानिकारक रसायन र अत्याधिक वायु प्रदूषणको सम्पर्कमा रहनु।
संक्रमणहरूः केही भाइरस र जीवाणुहरू जस्तै ह्युमन प्यापिलोमा भाइरस , हेपाटाइटिस बी र सी का कारण पनि क्यान्सर हुन सक्छ।
वंशानुगतः करिब ५ देखि १० प्रतिशत क्यान्सर परिवारको अघिल्लो पुस्ताबाट हस्तान्तरण हुने गर्दछ।
के क्यान्सर रोग पूर्ण रूपमा निको हुन्छ?
पहिलेपहिले क्यान्सरलाई असाध्यै रोग र यसको निदानलाई मृत्युको सजाय जस्तै मानिन्थ्यो। तर, आधुनिक चिकित्सा विज्ञानको विकाससँगै क्यान्सर पूर्ण रूपमा निको हुन सम्भव छ।
मुख्य कुरा ःसमयमै पहिचान
क्यान्सर निको हुने वा नहुने कुरा यसको पहिचान कुन अवस्थामा भएको छ भन्नेमा निर्भर गर्छ।
पहिलो र दोस्रो चरणः यदि रोग सुरुकै अवस्थामा पत्ता लाग्यो भने उपयुक्त उपचार शल्यक्रिया, किमोथेरापी, वा रेडियोथेरापी मार्फत क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ।
तेस्रो र चौथो चरणः ढिलो गरी रोग पहिचान भएमा पूर्ण निको पार्न कठिन भए पनि आधुनिक औषधिका माध्यमबाट बिरामीको आयु बढाउन र दुखाइ कम गरी जीवनस्तर सुधार्न सकिन्छ।
क्यान्सरबाट बच्नका लागि स्वास्थ्यप्रद जीवनशैली अपनाउनु नै सबैभन्दा उत्तम उपाय हो। सुर्तीजन्य पदार्थबाट टाढा रहने, सन्तुलित आहार खाने, नियमित व्यायाम गर्ने र समय(समयमा स्वास्थ्य परीक्षण गराउनाले यस रोगबाट जोगिन र सुरुकै अवस्थामा नियन्त्रण गर्न सकिन्छ।
चिकित्सकहरूका अनुसार शरीरमा असामान्य डल्लो देखिनु, अचानक तौल घट्नु, लामो समयसम्म खोकी लागिरहनु वा शरीरका कुनै भागबाट अनावश्यक रगत बग्नुजस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ।