काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मागअनुसार ग्यासको आपूर्ति भइरहेकोले बजारमा अभाव नभएको र अनावश्यक रूपमा ग्यास खरिद गरी भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
निगमका अनुसार साउन महिनाको १ गतेदेखि १८ गतेसम्म मात्रै ३१,८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ । निगमको मासिक औसत खपत ४७,००० मेट्रिक टन रहेकोमा वर्तमान आकस्मिक मागलाई ध्यानमा राखी यस महिनाको आयात परिमाण समेत बढाइएको निगमले जनाएको छ ।
काठमाडौं उपत्यकामा देखिएको उच्च मागलाई मध्यनजर गर्दै निगमले टेकुस्थित कार्यालयबाट बिहान ११स्०० देखि बेलुका ५स्०० बजेसम्म नेपाल ग्यास, एच।पी। ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिण्डरहरू सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । साथै, उद्योगीहरूले पनि आफ्नै परिसरबाट ग्यास बिक्री गरिरहेका छन् ।
निगमले ग्यास विक्रेताहरूलाई घरेलु प्रयोजनका उपभोक्ताहरूको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखी व्यवस्थित रूपमा बिक्री गर्न निर्देशन दिएको छ । वितरण कार्यमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरूलाई प्राथमिकतामा राख्न समेत निगमले अनुरोध गरेको छ ।
उपभोक्ताले ग्यास नपाएको अवस्थामा निगमको हटलाइन नम्बर ०१–५९७१९०२ ९कार्यालय समय भित्र० मा सम्पर्क गर्न सक्नेछन् । यस्तै, काठमाडौँ उपत्यका बाहिरका लागि निगमले विभिन्न प्रादेशिक तथा शाखा कार्यालयका सम्पर्क अधिकारीहरूको नाम र नम्बर सार्वजनिक गरेको छ ।