सोमवार, आश्विन १२ गते २०८३

धवलशम्शेरले आज दल दर्ता गर्दै, दुर्गा प्रसाईं अर्कै पार्टीको तयारीमा

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । नयाँ पार्टी निर्माणका लागि एक ठाउँमा उभिएका डा। धवलशम्शेर राणा र दुर्गा प्रसाईबीच दुई महिनामै विभाजन आएको छ । धवल समूहले आज निर्वाचन आयोगमा पार्टी दर्ता गर्दैछ भन् दुर्गा प्रसाईं अर्कै तयारीमा लागेका छन् ।

राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने सहमति जुटेको थियो । तर पार्टीमा को शक्तिशाली हुने भन्नेमा हानाथाप सुरू भयो । प्रसाईंले पार्टीको पहिलो वरीयतामा आफू रहनुपर्ने र कार्यकारी अधिकार बाँडफाँड हुनुपर्ने माग राखेका थिए । त्यसमा राणापक्ष सहमत भएन ।

विवाद बढिरहेकै बेला प्रसाईंले एक युट्यूव च्यानललाई अन्तर्वार्ता दिँदै राणामाथि खनिएपछि सहमतिको सम्भावना टरेको हो । प्रसाईं समूहका थुप्रै नेताहरू मिल्ने पक्षमा नै थिए । तर पार्टी दर्ता अलि दिनपछि गरौं भन्ने उनीहरुको प्रस्ताव थियो । तर राणा पक्षले घोषित मितिमै दर्ता गर्ने अडान लिएपछि प्रसाईं पक्ष रोकिएको छ ।

प्रसाईं समूहका नेता माधव कल्पितले आफूहरु एकताकै पक्षमा रहे पनि आजै पार्टी दर्ता गर्ने अडानले गर्दा विभाजनको स्थिति आएको बताए । यतिबेला आफूहरु लघुवित्त र मिटरब्याज पिडितहरुलाई न्याय दिने काममा व्यस्त रहेको उनको भनाइ छ ।

प्रसाईंले आज फेसबुकमा स्टाटस लेख्दै अर्कै पार्टी बनाउने संकेत गरेका छन् । केही समयपछि नयाँ पार्टी खुल्ने भन्दै उनले धैर्य गर्न आग्रह गरेका छन् ।उनले लेखेका छन्, ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ । वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ । केही समय धैर्य गर्नुहोला । तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ ।’

यसअघि जय नेपाल पार्टीमा १०१ जनाको जनाको केन्द्रीय कमिटी बनाउने तयारी भएको थियो । त्यसमा धवलपक्षका ४०, प्रसाईं पक्षका ४० र २० जना दुवै समूहमा नरहेकालाई राख्ने सहमति भएको थियो । तर प्रसाईं पक्षसँगको सहमित तोडिएपछि धवल पक्षका नेताहरु मात्रै समेटेर केन्द्रीय कमिटी बनाइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार