काठमाडौं। उपत्यका बाहिरीनेहरुका लागि आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको जानकारी दिए।
उनले अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गरे। बसको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो।
नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।