काठमाडौं। युरोपेली फुटबलको सर्वोच्च नियाय युइएफएले इङ्ल्यान्ड फुटबल संघमाथि छानबिन सुरु गरेको छ ।
युरो कप अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा भएको डेनमार्क विरुद्धको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै इङ्ल्यान्डमाथि छानबिन सुरु गरिएको हो ।
खेलको दौरान डेनमार्कका गोलरक्षक कास्पर स्माइकललाई लक्षित गर्दै दर्शकदिर्घाबाट लेजर लाइट प्रयोग गरिएको थियो ।
अतिरिक्त समयमा धकेलिएको खेलको १०४ औँ मिनेटमा इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो र पेनाल्टी प्रहार गर्न कप्तान ह्यारी केन आए । केनले पेनाल्टी प्रहार गर्नुभन्दा अगाडि कास्परको अनुहारमा पर्ने गरी लेजर लाइट प्रयोग गरिएको थियो ।
केनको प्रहारलाई गोरक्षक कास्परले रोके पनि रिबाउन्ड बललाई भने उनले गोलमा परिणत गरे ।
युइएफएको अनुशासन कमिटिले खेल चलिरहँदा मैदानमा अर्को बल आएको, खेलको सुरुवातमा राष्ट्रिय गीतको दौरान दर्शकले होहल्ला गर्दै अशान्ति फैलाएको र अतिशबाजी गरेको विषयमा समेत छानबिन गर्ने भएको छ ।