काठमाडौं। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो।
राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका थिए। एमालेका सांसदहरू राष्ट्रिय सभा अध्यक्षले बैठक सुरु गरेसँगै सिटबाट उठेर विरोध गरेका थिए।
राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले उभिएर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोही पार्टीका सांसद पर्शुराम मेघी गुरुङलाई बोल्न समय दिएका थिए।
एमाले सांसद परशुराम मेघी गुरुङले प्रतिपक्षले उठाएका माग समाधानका लागि सत्तापक्षबाट कुनै पहल नभएको भन्दै विरोध जारी रहने जानकारी दिएका थिए। अध्यक्ष तिमिल्सिनाले प्रश्न उठाएपछि बसेर सदन नियमित अगाडि बढाउन आग्रह गरेका थिए। तर, एमाले सांसदले सिटबाट उठेर विरोध कायम राखेपछि अध्यक्षले बैठकको कारबाही अगाडि बढाएका थिए ।
अध्यक्ष तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफका लागि प्रस्ताव राख्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए। छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो।
ती सन्देश सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले सुनाउने र त्यसपछि प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जानेछन् ।राष्ट्रिय सभाको अर्को बैठक असोज १७ गते १ बजेका लागि बोलाइएको छ ।