काठमाडौँ । पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडकहरू प्रभावित भएका छन्। बीपी राजमार्ग सम्भावित बाढीका कारण राति १८: बजेदेखि बिहान बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थिति हेरेर गाडी चल्न दिइएको छ।
कान्ति लोकपथ पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भोटेकोशी गाउँपालिकाको कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
रसुवाको त्रिशुली(मैलुङ(स्याफ्रुबेसी सडक, नुवाकोटको मध्य पहाडी लोकमार्ग र टोखा - छहरे सडक खण्डका साथै धादिङको दामन पाख्रिन सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।