काठमाडौं। राजधानीमा जारी छैठौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लब विजयी भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३-० को सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३-० को सोझो सेटमा पराजित गरेको हो। यो जितसँगै न्यु डायमन्डले जारी प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
प्रतियोगिताअन्तर्गत मंगलबारकै अर्को खेलमा विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो। प्रतियोगितामा भोलि महिला तर्फ ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दोस्रो खेल एभरेष्ट भलिबल ट्रेनिङ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।