काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् उनले असोज २० गते विश्वासको मत लिने भएका हुन्। आज बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ।
सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने छन्। नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतलिनुपर्ने व्यवस्था भएपपिन सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिनभन्दा बढी भइसकेको छ।
अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ।
१०४ सदस्यीय प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९‚ एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी जम्मा ८० जना सांसदले मुख्यमन्त्री राउतलाई समर्थन गरेका छन्।
सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमाले रहने छन्। लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन्।