काठमाडौं। जापानको आगामी प्रधानमन्त्री फुमिओ किशिडा बन्ने भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन्।
जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ। पूर्व विदेशमन्त्री समेत रहेका ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन्।
दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २५७ भोट पाएका थिए। कोनोले १७० भोट मात्रै पाएका थिए। पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो। अब किशिडाले जापानमा आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछन्।