काठमाडौं ।सरकारले मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिरहेको छ।
तर,अझै पनि ११२ वटा स्थानीय तहमा निरक्षरता देखिएको छ ।
हालसम्म ६८ जिल्ला साक्षर घोषित भइसकेका छन् । साक्षर घोषणा हुन बाँकी रहेकामध्ये कणाली प्रदेशको डोल्पा र बाँकी मधेश प्रदेशका जिल्ला छन् । मधेशका १३६ वटा स्थानीय तहमध्ये २५ वटा मात्रै पूर्ण साक्षर घोषित भएका छन् ।
थप २५ स्थानीय तह साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ ।
त्यस्तै डोल्पा जिल्लाको छार्का ताङ्सोङ गाउँपालिका पनि साक्षर घोषणा हुन बाँकी छ ।
शिक्षा विभागका अनुसार उक्त गाउँपालिकाका अधिकांश नागरिक तिब्बेतियन भाषामा साक्षर छन् । उनीहरूको दैनिक व्यवहार पनि सोही भाषामा चल्ने गर्छ तर नेपाली भाषा लेख्न, बोल्न जान्दैनन् । मधेश र कर्णालीका समेत गरेर ११२ वटा स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन् ।
चालु आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ ।
मधेशमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समयअघि ‘साक्षर मधेश प्रदेश तयारीसम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल’ बनाएर अध्ययन गरेको थियो ।
पूर्वसचिव डा. रामस्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई गत वैशाख ३० गते प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
प्रतिवेदनमा मधेश प्रदेशको साक्षरताको अवस्था, निरक्षरताका मुख्य कारण, देखिएका समस्या, समाधानका लागि रणनीति र नवीन अभ्यासलगायतका सिफारिससमेत प्रस्तुत गरिएको छ ।
सोही प्रतिवेदनलाई समेत आधार मानेर सरकारले यस पटक प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने रणनीति लिएको छ । सरकारले पहिलो पटक २०६५ सालमा यो अभियान सुरु गरेको थियो ।
त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य लिइएको थियो । त्यसपछि हरेक वर्ष सञ्चालन गरिएको अभियानबाट हालसम्म झन्डै १० अर्ब रुपियाँ खर्च भइसकेको छ ।
जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्रसङ्घको अभ्यास छ । त्यसबाहेक राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षर पढ्न र लेख्न सक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न जान्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर प्रयोग गर्न जान्ने, घडी हेरेर समय बताउन सक्ने, अङ्क लेख्न र गणना गर्न सक्ने, भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्नेलगायत १२ वटा सूचकलाई साक्षरताको सूचक मानिन्छ ।
यीमध्ये छ वटा सूचकमा सक्षम भएका नागरिकलाई साक्षर भएको मानिन्छ । पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षभन्दा माथिल्लो उमेर समूहको साक्षरता दर ७६.२ प्रतिशत छ । जसमा पुरुष र महिलाको साक्षरता दर क्रमशः ८३.६ प्रतिशत र ६९.४ प्रतिशत रहेको छ । १५ वर्षमाथिको साक्षरता दर ७२ प्रतिशत रहेको छ ।
जसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहको साक्षरता दर ९४ प्रतिशत तथा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका साक्षरता दर ८५ प्रतिशत छ ।