काठमाडौं। इक्वेडरमा जेलमा कैदीबन्दीविच झडप हुँदा २४ जनाको मृत्यु भएको छ। जेलमा राखिएका बन्दीहरुबीच गोल हानाहान हुँदा अन्य ४२ जनाभन्दा धेरै घाइते भएको समाचारमा जनाइएको छ। गुवायस राज्यस्थित गुवायाक्विलमा रहेको जेलमा गोली चलेको हो।
लस लोबोस र लस चोनेरोस बन्दीहरुबीच विवाद हुँदा गोली र चक्कु हानाहान भएको अधिकारीहरुले बताएका छन्। गर्भनर पाब्लो अरोसमेनाले मंगलबार पत्रकार सम्मेलनमा जेलभित्र कानून व्यवस्थाको प्रत्याभूति दिलाउनका लागि आदेश गरिएको बताए।
क्षेत्रीय प्रहरी कमाण्डर जनरल फाउस्तो ब्युनानोलाई उद्धत गर्दै केही व्यक्तिको गोली लागेर तथा केहीको हाते ग्रिनेड पड्कता मृत्यु भएको जनाइएको छ।
गुवायाक्विल शहर दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिकासहितका उत्तर अमेरिकी देशमा कोकिन तस्करी हुने हब बनेको छ। इक्वेडरका जेलहरुसमेत मेक्सिकोका ड्रग माफियाहरूसँग सम्बन्ध राख्ने बन्दीहरु बीचको रणभूमीजस्तै बनेको जनाइएको छ।