काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बसमा बसमा आगलागी हुँदा गाडीका चालक काभ्रेको पनौतीका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका हुन्।
आगलागीबाट रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बस जलेर नष्ट भएको छ।
‘रिद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्,’ जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी दिलिप घिमिरेले भने, ‘यात्रु नभएको बसमा आगो लागेको हो। घटना कसरी भयो, हामी बुझ्दै छौँ।’
घाइते चालकलाई उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ। आगलागी बारुणयत्रको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।