सोमवार, आश्विन १२ गते २०८३

बिजुलीको भ्याट हटाउने सहमति

सोमवार , आश्विन ५, २०८३

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत बिजुलीमा लगाएको मूल्यअभिवृद्धि कर (भ्याट) हटाउने भएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिजुलीमा उपभोक्तालाई लगाइएको ५ प्रतिशत भ्याट हटाउन राजी भएका हुन्। 

दुवै मन्त्रीबीच आइतबार भ्याट हटाउने सैद्धान्तिक सहमति जुटेको हो।

‘ऊर्जा मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यू सहमत हुनुभयो। अब अर्थ मन्त्रालयले आउँदो मन्त्रिपरिषद् बैठकमा भ्याट हटाउने प्रस्ताव पेस गर्ने समझदारी बनेको छ। भ्याट कसरी हट्छ भन्नेबारे अब अर्थले कस्तो प्रस्ताव लैजान्छ भन्ने हेर्नुपर्छ। ऊर्जा मन्त्रालयले घरायसीसँगै कर्पोरेट सबै क्षेत्रमा लाग्दै आएको भ्याट हटाउनुपर्छ भन्ने हो। त्यो हेर्न बाँकी छ’, ऊर्जामन्त्री निकट स्रोतले भन्यो।

अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते ल्याएको चालू आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए। जसको चौतर्फी आलोचना र विरोध भएको थियो। 

बिजुलीमा भ्याट लगाउने अर्थमन्त्री वाग्लेको घोषणामा ऊर्जामन्त्री श्रेष्ठसमेत रुष्ट बनेका थिए। आफ्नै सरकारको यस्तो अलोकप्रिय कदमपछि त्यसविरुद्ध ऊर्जामन्त्री श्रेष्ठले ‘काउन्टर स्ट्राटेजी’ नै अघि बढाएका थिए। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत अर्थमन्त्रीले बिजुलीमा भ्याट लगाउने नीतिको विरोध गरेका थिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार