सोमवार, आश्विन १२ गते २०८३

माथिल्लो त्रिशूली–१ मा अहिलेसम्म ३९ जना मृत फेला, ४३९ जना सम्पर्कविहीन

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ३९ जना मृत फेला परेका छन् । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि आयोजनामा कार्यरत ४३९ जना अझै सम्पर्कविहीन छन् ।

आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार बाढी आउँदा आयोजनास्थलमा नेपाली तथा विदेशी गरी करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए । तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन् । ३९ जनाको मृत्यु पुष्टि भएको र ४३९ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।

सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि बाढी आएको समयदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली परिचालन भइरहेको कम्पनीले जनाएको छ । भूमिगत संरचनाभित्र फसेको हुनसक्ने व्यक्तिको खोजीसँगै आयोजनास्थल आसपासका बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत खोजी भइरहेको छ ।

खोजीलाई प्रभावकारी बनाउन तालिमप्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोहण उद्धार टोली तथा अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ । बाढीले आयोजनास्थलसम्म पुग्ने सडकमा क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत आवश्यक उपकरण आयोजनास्थलमा पुर्‍याएर खोजी तथा उद्धारमा प्रयोग भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार