सोमवार, आश्विन १२ गते २०८३

चाडपर्वमा सार्वजनिक सेवा प्रभावकारी बनाउन सरकारको बिशेष तयारी,सचिवहरूले दिए यस्तो सुझाव

मंगलवार , आश्विन ६, २०८३

काठमाडौं ।दसैं, तिहार तथा छठजस्ता प्रमुख चाडपर्व र सक्रिय मनसुनलाई ध्यानमा राख्दै सडक यातायात अवरुद्ध हुन नदिन र अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न सरकारले विशेष तयारी गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विषयगत मन्त्रालयका सचिवहरुको बैठकले सो निर्णय गरेको हो। 

बैठकले चाडपर्वका समयमा सर्वसाधारणको सहज आवागमन र सेवा प्रवाहका लागि सम्बद्ध निकायले जनशक्ति, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्त–दुरुस्त राखी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।   

चाडपर्वको मौका छोपी बजारमा हुनसक्ने कालोबजारी, अनुचित मूल्यवृद्धि तथा गैरकानुनी व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ।  

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बैठकमा चालु आर्थिक वर्ष २०८३–८४ को साउन ४, भदौ १ र भदौ ११ गते बसेका सचिव बैठकका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो।   

नेपाल सरकार (मन्त्रीपरिषद्का) निर्णय कार्यान्वयनको अनुगमन गर्ने प्रणाली (सिडिआइएमएस) मा प्रविष्ट निर्णयको प्रगति अवस्था र त्यसबाट परेको प्रभावसहितको प्रतिवेदन यथाशीघ्र पठाउन र मन्त्रालयबाट नियमित अनुगमन गर्न निर्देशन दिइएको छ।

संवैधानिक निकायका प्रतिवेदनमा उल्लिखित सुझाव तथा संसदीय समितिका निर्देशन पूर्ण रूपमा कार्यान्वयन गराउने निर्णय भएको छ।  

साथै रसुवा भोटेकोशी बाढीबाट भएको क्षति पछिको आवश्यकता मूल्याङ्कन (पीडिएनए) कार्य समयमै सम्पन्न गर्न राष्ट्रिय योजना आयोगलाई आवश्यक जनशक्ति सम्बन्धित निकायले उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।

कानुन निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यतालिका अनुसार विधेयकको मस्यौदा तयार गर्दा अन्तरनिकाय समन्वय कायम गर्ने निर्णय समेत गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार