काठमाडौ सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहनुभएका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ ।
उहाँले काठमाडौँस्थित किङ्ग्स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गर्नुभएको छ ।–––