काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले डिजिटल भुक्तानी अहिलेको अपरिहार्य आवश्यकता भएको स्वीकार गरेकी हुन्।
यसको प्रवर्द्धनमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनले प्रणालीको सुरक्षा र उपभोक्ताले भोग्नुपरेका व्यावहारिक कठिनाइप्रति सरकार मौन रहन नहुने उल्लेख गरिन्। आफ्नै ई-सेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हराएको व्यक्तिगत अनुभव सुनाउँदै उनले सर्वसाधारणको रकम कति सुरक्षित छ भन्दै प्रश्न गरिन्।
सांसद बरालका अनुसार अन्तर-बैंकिङ कारोबारमा देखिने सर्भर समस्या र तीन दिनसम्म भुक्तानी ‘वेटिङ’मा रहने अवस्थाले सेवाग्राहीलाई मारमा पारेको छ। विदेशी डिजिटल भुक्तानी कम्पनीहरूको प्रवेशलाई स्वागत गरे पनि त्यस्ता प्रणालीमा राष्ट्रिय सुरक्षा र डेटा गोपनीयताको सुनिश्चितता हुनुपर्ने धारणा उनले राखिन्। सरकारले यस्ता प्रणालीका फाइदा र बेफाइदाबारे स्पष्ट हुँदै उपभोक्ताको रकम सुरक्षित राख्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।