काठमाडौं ।निरन्तरको भारी वर्षापछि देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक कटान बढ्दा प्रमुख राजमार्ग तथा ग्रामीण सडकको आवागमन प्रभावित भएको छ।
वर्षाका कारण काठमाडौँ–नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, मनाङ, गुल्मी, रोल्पा, ओखलढुङ्गा लगायतका जिल्लामा सडक अवरुद्ध हुनुका साथै जोखिमयुक्त सडकखण्डमा रातिको आवागमन रोकिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता,अवि नारायण काफ्लेका अनुसार वर्षाका कारण रसुवाको पासाङ ल्हामु राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
त्रिशूली नदीले सडकको अधिकांश भाग कटान गरेपछि राजमार्ग सञ्चालनमा समस्या भएको हो। धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा ठूलो ढुङ्गासहितको पहिरो खसेको जनाइएको छ।
चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेका कारण अर्को सूचना जारी नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।
धादिङमा पनि पृथ्वी राजमार्गको विभिन्न भागमा पहिरोका कारण आवागमन रोकिएको छ।
मकवानपुरमा पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि यातायातको चाप थेग्न त्रिभुवन राजपथबाट निश्चित समयतालिकाअनुसार सवारी सञ्चालनको व्यवस्था गरिएको छ।
भारी तथा लामो मालवाहक सवारीलाई केही सडकखण्डमा रोक लगाइएको छ भने यात्रुवाहक सवारीमा पनि लम्बाइसम्बन्धी सीमा तोकिएको छ।
बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिन्धुलीमा बिपी राजमार्ग, काभ्रेमा बिपी तथा अरनिको राजमार्गतर्फ जाने सडक र सिन्धुपाल्चोकमा पृथ्वी लोकमार्गमा रातिको आवागमन रोकिएको छ।
सोलुखुम्बु, भोजपुर र मनाङमा पनि जोखिमयुक्त सडकमा रातिको समयमा आवागमन नियन्त्रण गरिएको छ।
यसैबीच काभ्रेको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
ओखलढुङ्गामा लेदोसहितको बाढीले सडकको करिब १५ मिटर भागमा क्षति पुर्याउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ।
मनाङमा चामे–बेंसीसहर सडकखण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको छ।
गुल्मीमा लेदोसहितको पहिरोले सिस्नेभीर–रुद्रबेनी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ भने रोल्पामा ढुङ्गा, माटो र लेदोसहितको पहिरोले घोराही–थवाङ–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ।
सिन्धुलीको बिपी राजमार्गमा रोशी खोलाको बाढीले करिब १० देखि १५ मिटर सडक कटान गरेको छ।
वर्षाका कारण नदी तथा खोलाको बहाव बढेपछि डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई समेत सुरक्षित स्थानमा सारिएको छ।
भक्तपुरको लोकन्थलीमा हनुमन्ते खोलामा डुबानको सम्भावना बढेपछि १६ घरपरिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
नवलपरासी पश्चिममा नारायणी नदीको पानी बस्तीमा पसेपछि करिब ४०० स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पाल्पामा पहिरोले दुई घरमा क्षति पुर्याएको छ भने एक महिला बेपत्ता भएको प्रारम्भिक विवरण छ। निरन्तर पहिरो र लेदो बगिरहेका कारण तत्काल खोज तथा उद्धारमा समेत कठिनाइ भएको जनाइएको छ।
यसैगरी सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोजस्ता विपद्का कारण ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
विभिन्न स्थानमा घर तथा संरचनामा क्षति पुगेपछि जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिएको हो।