सोमवार, आश्विन १२ गते २०८३

नेपालले न्युयोर्कमा आयोजना गर्यो ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम

शनिवार , आश्विन १०, २०८३

न्युयोर्क । जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। 
परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित ‘सगरमाथा टु द सीस् अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर’ अर्थात् ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो। 

नेपालले भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको थियो। कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघसहित विश्वका विभिन्न मुलुकबाट उच्चस्तरीय तहमा सहभागिता रहेको थियो। नेपालले कार्यक्रम भोटेकोसी बाढीको छोटो भिडियो प्रस्तुत गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणाली भएकाले जलवायु संकट सम्बोधनका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको बताए। 
परराष्ट्रमन्त्री खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमालदेखि समुद्रसम्मको साझा जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए। 
नेपाल सरकार र नेपाली जनताका तर्फबाट सहभागीहरूलाई स्वागत गर्दै उनले सहआयोजक मुलुकहरू भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान तथा संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगलाई उक्त कार्यक्रममा सहकार्यका लागि धन्यवाद दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार