बिहिवार, आश्विन २२ गते २०८३

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा बाटो छिचोलियो

बिहिवार , आश्विन २२, २०८३

म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको जानकारी दिए ।

‘बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि बेससहित कालीगण्डकीले सडक बगाएर कुनौटामा पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो’, उनले भने, ‘चार दिनको प्रयासमा कुनौटामा दुईतर्फबाट जोडिएको सडकलाई फिलिङ, लेभल मिलाउने र सवारीसाधन सञ्चालन गर्न योग्य बनाउन थप एकरदुई दिन लाग्न सक्छ ।’

बुधबार कुनौटामा दुईतर्फबाट छ वटा एक्साभेटर र त्यतिकै सङ्ख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका ठाउँमा प्रारम्भिक मर्मत कार्य सकिएको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको वर्षात्पछिको बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध बनेको थियो । असोज ८ देखि ११ गतेको झरिपछि कालीगण्डकीमा आएको बाढीले १० ठाउँमा सडक कटान गरेर बगाएको र भत्काएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार