काठमाडौँ । यस पटक मुस्ताङबाट विगतमा भन्दा पाँच हजार कम १३ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बजारमा लगिने भएको छ ।
बाढीपहिरोका कारण देशभर चाडपर्वमा रौनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सडक सञ्जाल अवरुद्ध तथा हिमाली क्षेत्रमा भारी बर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत बर्षको तुलनामा बिक्री घटेको हो ।
गत बर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा बजार लगिएको थियो । यस पटक हालसम्म १० हजारको स्वास्थ्य परीक्षण गरी पठाइएको छ । जिल्लाभित्र रहेका पशुपालक कृषकले ५ हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन । छिमेकी जिल्ला डोल्पाबाट थप ५ हजार मुस्ताङ हुदैं बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ ।
कार्यालय प्रमुख डा. लालमणी अर्यालले प्राकृतिक विपत्तीका कारण उत्पादन भएका भेडाच्याङ्ग्रा समेत गोठबाट बिक्री गर्न समस्या भएपछि बिक्री घटेको बताउनुभयो । कार्यालय प्रमुख डा। अर्यालले भन्नुभयो, ‘‘डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले विगतमाभन्दा कम भित्रिएको छ, मौसम अनुकुल भएमा तिहारलाई लक्षित गरी बिक्री गर्न सक्छन ।’’ मुस्ताङको कृषकले यसबर्ष ७ हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन् ।