काठमाडौं। पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको मुद्धामा कात्तिक १५ मा फैसला हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो।
नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो। तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो।
पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुन विपरीत भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराइलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको हो।
ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालिन सचिवहरु दीप बस्न्यात, दिनेश अधिकारीसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।