काठमाडौं। काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ। बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। नयाँ भाडादर कात्तिक १ गतेदेखि लागू हुने छ। बाग्मती प्रदेशमा १३ जिल्ला छन्।
जसमध्ये काठमाडौँ उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटर भन्दामाथि ३५ भाडादर कायम गरेको छ।
काठमाडौँ उपत्यका बाहिरको हकमा भने २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७८ असार २७ को मन्त्रीस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानुनी व्यवस्था गरेको थियो।