काठमाडौं। बर्दियामा जिपले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका-३ दम्कीस्थित भुरिगाउँबाट गुलरियातर्फ आउँदै गरेको भे १ ज ८७९ नम्बरको बोलेरो जिपले साइकलयात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हो।
मृत्यु हुनेमा मधुवन नगरपालिका-५ बस्ने ८० वर्षीया रुप्सी कुमाल छन्। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते हुनेमा गुलरिया नगरपालिका–७ का ७० वर्षीय चक्रपाणी घिमिरे, गेरुवा गाउँपालिका-३ बस्ने १९ वर्षीय मनिराम थारू, वडा नम्बर ४ बस्ने ६४ वर्षीय नर प्रसाद काफ्ले, १८ वर्षीय सनम थारू, राजापुर नगरपालिका-४ बस्ने ६१ वर्षीय खुशीराम थारू, मधुवन नगरपालिका-५ बस्ने ७५ वर्षीय धनिराम कुमाल छन्।
यस्तै वडा नम्बर ६ बस्ने २३ वर्षीय सोनम विक, वडा नम्बर ९ बस्ने २० वर्षीय आशिष थारू, ठाकुरबाबा नगरपालिका–३ बस्ने ५४ वर्षीय भुन्टि थारू र बाँके नेपालगञ्ज उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय भावना केसीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।