काठमाडौं। सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।
पढ्ने विद्यार्थीहरुले पैसा अभावमा आफ्नो पढाई छोड्न नपरोस् भन्ने हेतुले यो कार्यक्रम ल्याउन लागिएको अर्थमन्त्री शर्माले बताए। उनले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।
मन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि दोहोर्याए।
उनले हाम्रो विकासको मोडल समूदायमा आधारित हुनुपर्ने आवश्यकता औंल्याए। समुदायलाई पनि शिक्षित, जिम्मेवार, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरुलाई प्रतिवद्ध बनाउन सके मात्रै नेपालको शिक्षा जीवन उपयोगी हुने उनको भनाइ छ।