काठमाडौं। लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रले मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाएको छ। कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पाल्पाका वीरबहादुर रानालाई नियुक्त गरिने भएको छ।
यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय भएको छ। यसअघि वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँलाई पठाउने कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरिसकेको थियो।
कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री बनीसकेका छन्। यस्तै माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन्। माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने यसअघि निर्णय गरीसकेको थियो।
माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन्। माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ।
साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेपनि दलहरुले दलभित्रै र गठबन्धनमा मन्त्रालय र मन्त्रीको भागबण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन। प्रदेश सरकारमा सहभागी सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आजै दिउँसो मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुलाई सपथ गराउने भएको छ।