काठमाडौं। बुटवलस्थित औद्योगिक क्षेत्रमा भएको झडप पछि कफ्र्यु लगाइएको छ। आइतबार रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।
आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका छन्। सो औद्योगिक क्षेत्रको १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेर बसेका छन्। हाल सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भएपछि जग्गा हडपेर बस्नेहरु आन्दोलनमा उत्रिएका हुन्।